आयोगले चैत २९ देखि ७५३ जना निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम दिने

चैत्र २८,२०७८

-आस्था न्यूज

चैत २८,२०७८ काठमाडौं ।
निर्वाचन आयोगले चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७५३ जना निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि अभिमुखीकरण तालिम प्रशिक्षण सञ्चालन गर्दैछ । निर्वाचन आयोगमा सोमबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले सो कुराको जानकारी गराउनुभयो ।
 
प्रवक्ता पौडेलकाअनुसार अभिमुखीकरण कार्यक्रमका लागि प्रदेश १ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त सगुन शम्शेर जवरा र कर्णाली प्रदेशका लागि आयुक्त जानकीकुमारी तुलाधर सहभागी हुनुहुनेछ । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन मिडियाको भूमिका महत्वपूर्ण हुने हुनाले त्यसकालागि भूमिका खेल्न प्रवक्ता पौडेलले आग्रह गर्नुभयो ।
 
अभिमुखीकरण कार्यक्रममा सञ्चार क्षेत्रलाई निर्वाचनबारे र आउँदैगरेको निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगको तयारीबारेमा जानकारी गराइने प्रवक्ता पौडेलले बताउनुभयो । कार्यक्रममा निर्वाचन समाचार संकलन, लेखन, प्रकाशन र प्रशारणसम्बन्धी ज्ञान आदनप्रदान गरिने उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
 
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन २०७९ वैशाख १ गतेदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ प्रकाशन गर्ने जनाएको छ । सो बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।