होटल हायात प्यालेसले सर्वसाधारणमा सेयर जारी गर्ने

बैशाख ०५,२०७९

-

  1. होटल हायात प्यालेसले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। होटलले १६ करोड ७४ लाख रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो।

 

हायात प्यालेसको प्रवर्द्धक कम्पनी सिटी होटल लिमिटेड सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ। होटलको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

 

सन् २०२० जुलाई १५ सम्म सात संस्थापकहरूको ९३ करोड ८० लाख रूपैयाँ लगानी रहेको देखिन्छ। यसआधारमा हाल होटलले जारी गर्न लागेको सेयरपछि चुक्ता पुँजी एक अर्ब १० करोड रूपैयाँ पुग्नेछ। सर्वसाधारणको स्वामित्वमा १५ प्रतिशत सेयर रहने सम्भावना छ।

 

गोल्यान समूहको हायात प्यालेस होटल गत वर्ष मात्र सञ्चालनमा आएको हो। काठमाडौं, सोल्टीमोडमा रहेको यो पाँचतारे होटलमा एक सय ५३ वटा कोठा छन्। कुल चार अर्ब ३९ करोड ६० लाख रूपैयाँ लागतको यो होटलमा २५ फेब्रुअरी २०२१ मा तीन अर्ब ५६ करोड ९० लाख रूपैयाँ लगानी भइसकेको छ । त्यस्तै  होटलको  कर्जा दुई अर्ब ८४ करोड  रहेको छ ।

 

होटल सन् २०२१ अगष्ट बाट सञ्चालनमा आउने भनिएकोमा केही ढिला हुन पुगेको थियो। तीन अर्ब १४ करोड ७० लाख रूपैयाँमा तयार हुने भनिएको यो होटलको सञ्चालन केही ढिलो हुँदा लागत बढेको हो । होटलको सञ्चालकमा शक्तिकुमार गोल्यान रहेका छन् ।