प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिक मत हाल्ने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

आषाढ १३,२०७९

-आस्था न्यूज

असार १३, २०७९ काठमाडौं । 
 
 
आसन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीलाई पनि मत हाल्ने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
 
 
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो।
 
असार १ गतेदेखि निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य सुचारु गरेको अवस्थामा रहेको भन्दै सर्वोच्चले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको निर्वाच प्रयोजनका लागि कैदीबन्दीहरुको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्न गराउन अन्तरिम आदेश जारी गरेको हो।
 
 
२०६४ र २०७० को संविधानसभा निर्वाचनमा सरकारी कार्यालय, स्थानीय निकाय वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, सैनिक वा प्रहरी ब्यारेकमा रहेका व्यक्ति वा तत्कालीन अवस्थामा अस्थायी शिविरमा रहेका माओवादी सेनाका लडाकु, कारागारमा रहेका कैदी वा थुनुवाको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिएको र मतदान अधिकार दिएको स्मरण आदेशमा गरिएको छ।