शेयर बजार फेरी ओरोतिर, सोमबार २३ अंकले घट्यो नेप्से

आषाढ १३,२०७९

-आस्था न्यूज

असार १३, २०७९ काठमाडौं । 
 
शेयर बजारमा आइतवार देखिएको उत्साह एक दिन पनि टिकेन । आइतवार लामो समयपछि ९४.९२ अंकले बढेको शेयर बजार सोमवार भने २३.८५ अंकले घटेको छ ।
 
आइतवार एकै दिन २१ कम्पनीमा सकारात्मक सर्किट लागेको र थप ३१ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको भए पनि सोमवार भने शेयर बजार पुनः ओरालो लाग्न थालेको छ । 
 
सोमवार बजार घटे पनि सीवाईसी नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर मूल्य ९.१५ देखि ९.९९ प्रतिशतसम्मले बढेको छ । अरू थप ३१ कम्पनीको शेयर मूल्य ०.०५ प्रतिशतदेखि ६.०७ प्रतिशतसम्मले बढेको छ । बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ । आज बजार १९३३.१३ बिन्दुमा झरेको छ । 
 
सोमवार उन्नति सहकार्य लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ । अरू १९३ कम्पनीको शेयर मूल्य भने ०.०१ देखि ७.७९ प्रतिशतसम्मले घटेको छ । 
 
सोमवार २२९ कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयरको ४३ हजार १२२ पटक कारोबार भएको छ । यसबाट २ अर्ब ४ करोड रूपैयाँको कारोबार भएको छ । 
 
आज सबैभन्दा बढी मूल्यको शेयर कारोबार गर्नेमा नागरिक लगानी कोष छ । यसको आज १६४७ पटकको कारोबारबाट १५ करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ ।