सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सम्झौता

आषाढ १३,२०७९

-आस्था न्यूज

असार १३, २०७९ काठमाडौं । 
 
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सम्झौता भएको छ । सोमवार दुवै कम्पनीले संयुक्त रूपमा एक अर्को बीमा कम्पनीबीच मर्जर गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
 
सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरेका छन् । होटल याक एण्ड यतीमा सम्पन्न उक्त मर्जर सम्झौता कार्यक्रममा दुवै कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखसहित सहभागी भएका थिए । 
 
 
यी दुवै संस्थाबीच मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिका लागि सम्झौतापत्रसहित बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ सम्पत्ति दायित्वको मूल्यांकन (डीडीए) गर्नेसहित विषयलाई अगाडि बढाएर मर्जरलाई अन्तिम रूप दिने भएका छन् ।
 
 
बीमा समितिबाट निर्देशित पुँजी वृद्धि गर्नुपर्ने समय सीमाभित्रै चुक्ता पुँजी वृद्धि गर्न र बीमा समितिको निर्देशनअनुसार काम गर्न तयार रहेको दुवै कम्पनीले मर्जर सम्झौतापछि जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
 
बीमा कम्पनीको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने र नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन मर्जर सम्झौताले सहयोग पुग्ने अपेक्षा पनि बीमा कम्पनीले गरेका छन् ।