नेकपा एसको घोषणापत्रः वैज्ञानिक अनुसन्धान र विकासमा जोड

कार्तिक १४,२०७९

-आस्था न्यूज

कार्तिक १४, २०७९ काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीले बजेट निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र विकासमा हरेक तहका सरकारले कूल बजेटको १ प्रतिशत रकम छुट्याउने आफ्नो घोषणापत्रमार्फत् प्रतिबद्धता व्यक्त गरेको छ । सोमबार सार्वजनिक गरिएको घोषणापत्रमा कूल बजेटको कम्तीमा एक प्रतिशत अनुसन्धान र विकासमा छुट्याउने नेकपा एसले प्रतिबद्धता व्यक्त गरेको हो ।
 
यस्तै, सबैखाले वित्तीय र व्यवसायिक निकायहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वमा वैज्ञानिक अनुसन्धानलाई अनिवार्य गरिने घोषणापत्रमा उल्लेख छ ।
 
नेकपा एसले राष्ट्रिय अनुसन्धान कोषको स्थापना गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ । विभिन्न स्रोतबाट रकम जुटाएर कोषको स्थापना गरिने उल्लेख छ । अनुसन्धानमा खर्च गरिने सम्पूर्ण बजेट पनि प्रतिस्पर्धात्मक विधि तथा एकद्वार प्रणालीबाट मात्र हुने व्यवस्था मिलाइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
 
उक्त पार्टीले अनुसन्धानमा सरकारी निकाय, विश्वविद्यालय र उद्योगबीचको सहकार्यलाई प्रोत्साहन गर्दै सरकारी निकायले सबै अनुसन्धानात्मक क्रियाकलापहरू प्राथमिकताका साथ विश्वविद्यालहरूबाट गराउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
 
नास्टलाई पुनर्संरचना, प्रत्येक प्रदेशमा नास्टका एकरएक विशिष्ट प्रयोगशाला एवं स्रोत केन्द्र राख्न पहल गरिने घोषणापत्रमा उल्लेख छ ।
 
नेकपा एसले विज्ञान,प्रविधि र आविष्कारः आर्थिक सामाजिक रूपान्तरण मूल आधारु कार्यक्रमको स्पष्ट मार्गचित्र निर्माण गरेर कार्य गरिने जनाएको छ । उसले विदेशमा काम गरेर स्वदेश फर्कन चाहने वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
 
घोषणापत्रमा युवा वैज्ञानिकहरूका सपनाको प्रवर्धन गरी देश निर्माणमा लगाउनका लागि हजार कोपिला प्रस्फुटन कार्यक्रम सञ्चालन गरिने, विज्ञान तथा प्रविधिसम्बन्धी नीति तय गर्दा राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति २०७६ र शिक्षा नीति २०७६  लाई समेत ध्यानमा दिइने उल्लेख छ ।