नेकपा एमालेका नेता हरि काफ्लेमाथि आक्रमण

कार्तिक २८,२०७९

-आस्था न्युज

गोरखाको च्याङ्लीमा  नेकपा एमालेका नेता हरि काफ्लेमाथि आक्रमण भएको छ । होटलमा आइतबार बेलुकी खाना खाने क्रममा विवाद हुँदा एमाले गण्डकी प्रदेश कमिटी सदस्य काफ्लेमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।

 

 

पालुङटार नगरपालिका वडा नम्बर २ मा रहेको म्याङ्गो होटलमा आइतबार बेलुकी खाना खाने क्रममा विवाद हुँदा बियरको बोतलले काफ्लेमाथि आक्रमण भएको हो । काफ्ले एमालेबाट गोरखा २ प्रतिनिधि सभा क्षेत्रमा उम्मेदवार रहेका अब्दुस मियाँको चुनावी कार्यक्रममा सहभागी  थिए ।

 

‘खाना खाने क्रममा दुई समूहबीच झगडा भएको रहेछ। एक जना घाइते हुनुहुन्छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले  बताए, ‘घटना राजनीतिक होइन। दुई समूहबीच विवादपछि होटलमा रहेका टेबुलका सिसा फुटाउने र वियरका बोत्तल प्रहार भएको हो।’

 

एमालेकै कार्यकर्ता प्रहरीले राम सापकोटा र अजित क्षेत्रीलाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। सापकोटा युवा संघ भानु नगरका अध्यक्ष र क्षेत्री युवा संघ नेता भएको प्रहरी स्रोतको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।