पौष २८,२०७९
-आस्था न्युज
२८ पुस, हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेश सभाको सभामुखका लागि शिवराज अधिकारीलाई अघि सरेको छ । धादिङका अधिकारीलाई कांग्रेसले बागमती प्रदेश सभाको सभामुखका उम्मेदबार बनाएको हो ।
सत्ता साझेदार दलहरुको तर्फबाट बागमती प्रदेशको सभामुखका लागि राप्रपाका भुवन पाठक उम्मेदवार रहेको छन् । अन्य प्रदेशमा आफ्नो उम्मेदार नउठाएको कांग्रेसले धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट निर्वाचित भएका सांसद अधिकारीलाई बागमती प्रदेश सभामुखको लागि भने उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेको थियो सोहि सहमतिअनुसार बुधबार राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग ३७ र नेमकिपाका ३ सांसद रहेका छन् ।
सभामुखको निर्वाचन कार्यक्रम शुक्रबार बिहान ११ बजेका लागि प्रदेश सभा हलमा हुने तय भएको छ । बागमती प्रदेश सभा सचिवालयका अनुसार बिहान १०:३० बजेदेखि २ बजेसम्मका लागि सभामुखको मनोनयनको समय निर्धारित गरिएको छ । दिउँसो २:३० बजेदेखि ३:३० बजेसम्मका लागि मनोनयन फिर्ताको समय हुने र दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको जनाएको छ ।
प्रमुख समाचार