नेपाली कांग्रेसको बागमती प्रदेश सभाको सभामुखका उम्मेदार शिवराज अधिकारी

पौष २८,२०७९

-आस्था न्युज

 २८ पुस, हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेश सभाको सभामुखका लागि शिवराज अधिकारीलाई अघि सरेको छ । धादिङका अधिकारीलाई  कांग्रेसले  बागमती प्रदेश सभाको सभामुखका उम्मेदबार बनाएको हो  ।

 

सत्ता साझेदार दलहरुको तर्फबाट  बागमती प्रदेशको सभामुखका लागि  राप्रपाका भुवन पाठक उम्मेदवार रहेको छन् । अन्य प्रदेशमा आफ्नो उम्मेदार नउठाएको कांग्रेसले  धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट निर्वाचित भएका सांसद अधिकारीलाई  बागमती प्रदेश  सभामुखको लागि भने  उम्मेदवार बनाउने निर्णय गरेको छ  ।

 

सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेको थियो सोहि  सहमतिअनुसार बुधबार राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग ३७ र नेमकिपाका ३ सांसद रहेका छन् ।

सभामुखको निर्वाचन कार्यक्रम शुक्रबार बिहान ११ बजेका लागि प्रदेश सभा हलमा हुने तय भएको छ  । बागमती प्रदेश सभा सचिवालयका अनुसार  बिहान १०:३० बजेदेखि २ बजेसम्मका लागि सभामुखको मनोनयनको समय निर्धारित गरिएको छ ।  दिउँसो २:३० बजेदेखि ३:३० बजेसम्मका लागि मनोनयन फिर्ताको समय हुने र दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको जनाएको छ ।