महाशिवरात्रीको पुर्व सन्ध्यामा पशुपतिमा राज्यमन्त्रीको छड्के अनुगमन - निरीक्षण

सबैलाई समान व्यवस्था गर्न निर्देशन

फाल्गुण ०५,२०७९

-आस्था न्युज

महाशिवरात्रीको पुर्व सन्ध्यामा पशुपतिमा राज्यमन्त्रीको  छड्के अनुगमन - निरीक्षण  भएको छ   ।  शुक्रबार साझ संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी अनुगमन तथा निरीक्षण पशुपति  पुगेकी  हुन्  ।

 

फाल्गुन महिनाको त्रयोदशीमा अर्थात् फाल्गुन ६ गते  पशुपतिनाथमा लाग्ने महाशिवरात्री मेलाको तयारी अवस्थाको बारेमा भएको कामको अनुगमन तथा निरिक्षण गर्न साझ राज्यमन्त्री सिर्पाली पशुपति पुगेकी हुन् । अनुगमन तथा निरिक्षण गर्ने क्रममा पशुपति बिकास कोषले गरेको काम , सुरक्षा, खानपान, स्वास्थ परिक्षण, सरसफाई , पशुपतिनाथ दर्शनको व्यवस्था , साधुसन्त , भक्तजन, अतिथिहरुका लागि भएको व्यवस्थापनको अनुगमन तथा निरीक्षण गरेकी छिन् ।

 

राज्यमन्त्री सिर्पालिले अनुगमन तथा निरीक्षण गर्ने क्रममा पशुपतिनाथ मन्दिर परिसर देखि नि:शुल्क प्रसाद वितरण गर्ने भान्छामा समेत पुगेकी थिईन । उनले मन्दिर दर्शन गर्न आउने  भक्तजनलाई कसरी दर्शनको व्यवस्था भएको छ र कस्तो प्रसाद वितरण भएको छ भन्दै खाद्यान्नको  र भान्छाको अवस्थाको निरीक्षण गरिन ।

 

सिर्पालीले पशुपतिको सुरक्षा व्यवस्था चुस्थ राख्न र दर्शनार्थीलाई सहज ढंगले दर्शन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छिन् । सबैलाई समान ढंगले व्यवहार गर्न र श्रद्धालुहरू तथा तिर्थ यात्रुहरुको सुबिधालाई बिशेष ध्यान राख्न भन्दै महाशिवरात्री पर्वलाई भब्य ढंगले संचालन गर्न कुनै कसर नछोड्न पशुपति विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई निर्देशन समेत  दिईन  ।

 

यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको र भक्तजनको व्यवस्थापनका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको , महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तको लागि हंसमण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिएको , पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको व्यवस्थाको प्रबन्ध , सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाईएको सदस्य सचिव थापाले जानकारी गराए ।

 

महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ ।