कोरोना महामारीपछि बन्द भएको रसुवागढी नाका आजबाट सञ्चालनमा आयो

चैत्र १८,२०७९

-रासस

चैत १८, २०७९ काठमाडौं ।
कोभिड-१९ संक्रमणसँगै बन्द भएको रसुवागढी नाका शनिबारदेखि पुनः सञ्चालनमा आएको छ।  
 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको छ। 
 
नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्किएका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको टोली रसुवागढी नाका हुँदै रसुवा फर्किएको थियो। 
 
कोरोना संक्रमणपश्चात बन्द चीनसित जोडिएका अन्य सिमानाका क्रमशः सञ्चालनमा आउने सचिव मरासिनीले जानकारी दिए। आगाम मे १ देखि तातोपानी नाकासमेत पुनः सञ्चालनमा आउने उनले  बताए। नाका पुनः सञ्चालनमा आएपछि यहाँका व्यापारीमा उत्साह छाएको नेपाल केरूङ व्यापार संघका संस्थापक अध्यक्ष मानबहादुर तामाङले बताए।
 
रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्रीलगायत सामग्री बोकेका २४ मालवाहक ट्रक शनिबार नै केरूङतर्फ पठाइएको छ। मालसामान आयातका लागि शनिबार नै ६३ ट्रक केरूङ पठाउने तयारी भइरहेको सीमा प्रहरीचौकी टिमुरेले जनाएको छ।