अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हरायो

जेठ १६,२०८०

-आस्था न्यूज

जेठ १६, २०८० काठमाडौं ।
मलेसियाविरुद्ध भइरहेको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाल महिला टिमले मलेसियालाई हराएको छ । मंगलबार बिहान सेलांगोरको बांगीस्थित यूकेएम ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियाले ७ विकेटले हराएको हो ।
 
९८ रनको लक्ष्य पाएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै जित हात पारेको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २९ रन बनाइन् । २१ बलमा ३ चौका र १ छक्कासहित उनले उक्त योगफल तयार गरेकी हुन् । त्यस्तै नेपालका लागि ४३ बलमा २ चौकासहित कविता कुँवरले २६ रन बनाइन् । बिन्दु रावलले १८ बलमा २ चौकासहित १७ रन बनाइन् ।
 
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । मलेसियाका लागि मास इल्यासा यास्मिन जुल्किफ्लीले सर्वाधिक २८ रन बनाइन् । ३४ बल सामना गरेकी उनले २ चौकासमेत प्रहार गरेकी थिइन् ।
 
त्यस्तै विनिफ्रेड एन दुराइसिंगम र वान जुलिया वान मोहम्मद रोस्दीले समान २०र२० रन बनाए । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २ विकेट लिइन् । त्यस्तै कविता कुँवर र इन्दु बर्माले १/१ विकेट लिए ।
 
आइतबार भने नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको छ । नेपाल ट्वान्टी-२० अन्तर्राष्ट्रियमा मलेसियासँग पहिलो पटक पराजित भएको हो ।