भदौं २० देखि नाडा अटो शो हुने, व्यवस्थित प्रदर्शनी स्थल नभएकोमा व्यवसायीको असन्तुष्टि

भाद्र ११,२०८०

-आस्था न्यूज

भदौ ११, २०८० काठमाडौं । 
यही भदौ २० गते काठमाडौंमा नाडा अटो शो हुने भएको छ । 
 
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले, सवारी साधन, पार्ट पुर्जाबारे जानकारी दिने उद्देश्यले आयोजना हुदैँ आएको ‘नाडा अटो शो’ को १५ औँ संस्करण यही भदौ २० गतेदेखि सुरु हुने जानकारी दिएको हो ।
 
आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसोसिएसनले, यही भदौ २० देखि ३१ गते सम्म प्रदर्शनी हुने जानकारी दिएको हो । 
 
प्रदर्शनीमा ठूला तथा साना गरी करिव १२० वटा स्टल छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट पूजाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने बताइएको छ ।
 
प्रदर्शनीमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल ९ वटा वित्तीय संख्या तथा ३० वटा लुब्रिकेन्ट, टायर ब्याटरी, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेने आयोजकले जानकारी दिएको छ । 
 
उक्त कार्यक्रममा अटोमोबाईल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले काठमाडौंमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी स्थल आवश्यक रहेको बताए । 
 
अघिल्लो सरकारले बजेटमा पनि यसलाई समावेश गरेको तर कार्यान्वयन हुन नसकेको भन्दै उनले यति ठूलो जनसंख्या भएको क्षेत्रमा व्यवस्थित प्रदर्शनी स्थल नभएको प्रति असन्तुष्टि जनाए । 
 
उनले भने, ‘ठूलो महानगर छ ५०-६० लाख जनसंख्या भएको क्षेत्र छ, यस्तो ठाँउमा एउटा पनि व्यवस्थित प्रदर्शनी स्थल भएन, यसमा प्रर्दशनी स्थलको व्यवस्था गनुपर्ने छ भनेर सरकारलाई भनेका थियौँ । पहिलाको सरकारले बजेटमा पनि यसलाई समावेश गरेको कुरा आएको थियो तर त्यसलाई कार्यान्वयन भएको छैन् । काठमाडौंमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी स्थल एकदमै आवश्यक भएको छ ।’