सडकले पछि परेको शैलुङ कृषिमा आत्मनिर्भर बन्दै
-आस्था न्यूज
असोज २, २०८० काठमाडौं ।
सय थुम्काले चिनिएको पर्यटकीय स्थान दोलखाको शैलुङ क्षेत्र वरपर यतिबेला तरकारी खेतीले निकै रमणीय र हराभर देखिन्छ । जताततै बारीका गराबाट बर्खे आलुु खन्दै गरेका देश्य देखिन्छन् । आलै माटोबाट आलु झिक्न नपाउँदै यहाँका कृषकले काउली, बन्दालगायत तरकारी लगाउन थालिसकेका छन् । बारीका गरा निकै सुन्दर र हरियाली देखिन्छन् ।
दोलखाको शैलुुङ गाउँपालिका-८ शैलुुङ डाँडाको तल्लो भागमा स्थानीयले बन्दा, काउली, मटरकोसा, केराउ, गाँजर, हिरोयो मकैलगायत बेमौसमी तरकारी खेती गरेका छन् । यहाँका किसानले लाखौँ मूल्य बराबरको आलुु बिक्री गरेका छन् ।
स्थानीय लालबहादुर श्रेष्ठका अनुसार यो ठाउँ निकै अग्लो स्थानमा पर्ने भएकाले पनि यहाँको आलुु, काउली, बन्दालगायत तरकारी बारीमै ठेक्का लाग्छ । यहाँको तरकारी बढीजसो काठमाडौँ बिक्रीका लागि लैजाने गरिन्छ । शैलुुङ माथिको भागझोर, मनागाउँ, कालापानी, ढुङ्गे, छाँगा गुुफा, फालाटे, चित्रे पाखा, भैंसे, खोरण्डे, कुने, डोबाटालगायत स्थानमा यावसायीकरुपमा तरकारी खेती गरिँदै आएको छ । तरकारी खेतीले दिनचर्या फेरिएकामा किसान दङ्ग छन् । किसानले तरकारी खेतीबाटै आफ्नो घरखर्च मात्रै चलाएका छैनन् छोराछोरीलाई पढाउने खर्चसमेत जुटाउँदै केही रकम बचतसमेत गर्ने गरेका छन् ।
कुनै बेला आफ्नो बारीबाट जति गरे पनि खान सम्म नपुुग्ने यहाँका कृषक अहिले व्यावसायीक तरकारी खेतीमा लागेपछि आयआर्जन बढेको छ । किसानले एकै याममा रु पाँच लाखसम्मको तरकारी बेच्छन् । शैलुुङ–८ कालापानीका गोपाल थपलिया काउली बेचेर घरखर्च चलाउन सहज भएको बताउनुहुन्छ । सोही ठाउँका लालबहादुर श्रेष्ठले पनि यसपाली रु तीन लाखको काउली बेचेको सुनाउनुभयो । यहाँका कृषक व्यावसायीक रुपमा तरकारी खेतीमा लागेका छन् । कतिपय किसान व्यावसायीक चौंरी पालनमा छन् भने कोही भेडाबाख्रा पालनमा व्यस्त भेटिन्छन् ।