Trending :
 

संविधान निर्माणमा नेम्वाङको भूमिका उच्च प्रशंसायोग्यः झलनाथ खनाल

आश्विन ०२,२०८०

-आस्था न्यूज

असोज २, २०८० काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले संविधान बनाउने प्रक्रियामा भएको सहमतिमा अध्यक्षको हैसियतले सुवास नेम्वाङको भूमिका उच्च प्रशंसा गर्न योग्य भएको बताएका छन् । 
 
संविधान सभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका पूर्वसभामुख नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
 
उनले संविधान बनाउने प्रक्रियामा भएको सहमति असाधारण सहमति भएको भन्दै त्यसमा सहजीकरण गर्न नेम्वाङको ठूलो भूमिका रहेको बताए । 
 
खनालले भने, ‘संविधान बनाउने प्रक्रियामा जुन प्रकारको एउटा सहमति हामीले निर्माण गर्न सक्यौं त्यो असाधारण सहमतिको कुरा हो । त्यो सहमति निर्माण गर्ने कुरामा त्यसको अध्यक्षको हैसियतले सुवास नेम्वाङले खेल्नुभएको भूमिकाको हामीले उच्च प्रशंसा गर्नुपर्छ ।’
 
यस्तै, उनले संविधान बनाउने बेलामा धेरै सचेत भए पनि पछिल्ला दिनमा कार्यान्वयन गर्न त्यति सचेत नभएको भन्दै त्यसका लागि काम गर्नुपर्नेमा जोड दिए ।
 
उनले भने, ‘हामी संविधान बनाउन जति सचेत थियौं, यसलाई कार्यान्वयन गर्न त्यति सचेत छैनौँ । जनतालाई संविधानको बारेमा प्रशिक्षित गर्ने कुरामा देशको नेतृत्व पछाडि छ । संविधान राम्रो बनाएर मात्रै हुँदैन त्यसलाई कार्यान्वयन गर्नको लागि पनि कामहरु अगाडि बढाउनु पर्छ ।’
 
उनले नेम्वाङ् एकदम उदार व्यक्ति भएको भन्दै तर कहिलेकाहीँ आवश्यकताभन्दा बढी उदारता पनि देखाएको टिप्पणी गरे ।