एनसेल शेयर खरिद बिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन

मंसिर २४,२०८०

-आस्था न्युज

मंसिर २४, २०८० काठमाडौं ।
एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आजदेखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको छ । नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले जानकारी दिनुभयो । 
 
समितिले अध्ययन तथा छानबिनका क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारी, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने उहाँले बताउनुभयो । संयोजक शर्माले आवश्यक कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिसँग समेत छलफल गरी राय सुझाव पेस गरिने बताउनुभयो । 
 
समितिले एनसेलको शेयर खरिदबिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाण भएमा समिति समक्ष उपलब्ध गराइ अनुसन्धानमा सहयोग गर्न सम्पूर्णमा आह्वान गरेको छ । 
 
समितिको सचिवालय सिंहदरबास्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको छ । सरकारले यही मङ्सिर २१ गते एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा, प्रचलित कानुनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।