Trending :
 

घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको मृत्यु

फाल्गुण २०,२०८०

-आस्था न्यूज

फागुन २०, २०८० काठमाडौं । 
सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ ।
 
इटहरी उपमहानगरपालिका–६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
कटुवाल सुतेको कोठामा आगलागी भएको थियो । आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
 
अर्को कोठामा उनका छोराबुहारी सुत्ने गरेका थिए । उनीहरुले आगो कोठामा फैलिसकेपछि मात्र आफूहरुले थाहा पाएको प्रहरीलाई बताएका छन् ।
 
प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाइएकाले अन्यत्र फैलन नपाएको जनाइएको छ ।
 
के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।