Trending :
 

प्रदेशभित्रका अस्पतालको सेवा चित्तबुझ्दो र गुणस्तरीय बनायन मुख्यमन्त्री यादवको आग्रह

फाल्गुण २०,२०८०

-आस्था न्यूज

फागुन २०, २०८० काठमाडौं । 
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशभित्रका सरकारी अस्पतालको सेवा गुणस्तरीय नरहेको बताएका छन् । चिकित्सक दिवसको अवसर पारेर जनकपुरमा आयोजित मधेस स्वास्थ्य शिखर सम्मेलन–२०२४ को उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो गुनासो गरेका हुन् । 
 
आफ्नो प्रदेशमा स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ । तर राजनीतिकका कारणले मधेसको स्वास्थ्य क्षेत्र थला परेको उनको तर्क छ । त्यस कारण खासगरी स्वास्थ्य क्षेत्रसँगै शिक्षा क्षेत्रलाई पनि राजनीतिबाट टाढा राख्नु पर्ने जरुरी रहेको उनको भनाइ छ । 
 
उनका अनुसार स्वास्थ्य क्षेत्रमा देखिएको समस्याको सुधार भौतिक प्रगतिले मात्रै सम्भव हुँदैन । उनले भने, ‘प्रदेश सरकार स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार व्यवस्थापनको क्षेत्रमा तीव्र गतिको स्पिडमा छ, अव चिकित्सकहरूले पनि आफ्नो धर्म निर्वाह त्यही गतिमा गर्नुपर्‍यो । अनि समस्या आफै समाधान हुन्छ । बाँकी अस्पताललाई चाहिने हरेक सामग्री दिन्छौँ, अब गुणस्तरीय सेवा प्रवाह गरिदिने जिम्मा तपाईँहरूको हो ।’
 
चिकित्सकहरूकै माग अनुसार मधेस सरकारले करारका चिकित्सकहरूको लागि ४५ वर्ष उमेर निर्धारणसमेत गरेको मुख्यमन्त्री यादव बताउँछन् । यसलाई अब छिट्टै कानुन नै संशोधन गरेर लोक सेवामासमेत सोही उमेर निर्धारण गरिने तयारी गरिरहेको मुख्यमन्त्री यादवले सुनाए ।