एसीसी प्रिमियर कपः सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित

बैशाख ०७,२०८१

-आस्था न्यूज

वैशाख ७, २०८१ काठमाडौं ।
नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।
 
१२० रनको लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान पक्का गर्‍यो । युएईका ओपनर अलिशान शराफुले ४१ बलमा ५ चौका र २ छक्कासहित ५५ र आयन खान ३ रनमा नटआउट रहे ।
 
कप्तान मोहम्मद वासिम ११, विष्णु सुकुमारन २८, आसिफ खान १० र सैइद हैदर १४ रनमा आउट भए । नेपालका गुलशन झाले २, ललित राजवंशी र सोमपाल कामीले १/१ विकेट लिए ।
 
त्यसअघि ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।