अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन देशभरका प्रशासन कार्यालयलाई गृहको निर्देशन

बैशाख १४,२०८१

-आस्था न्यूज

वैशाख १४, २०८१  काठमाडौं ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको हो । 
 
पत्रमा भनिएको छ-‘मुलुकको विभिन्न स्थानहरूमा सञ्चालित योजना तथा आयोजनाहरू पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पत्तिको नोक्सानी व्यहोर्नुपरेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना र योजना सञ्चालन गर्न कार्यालय र निकायसँग समन्वय गरी त्यहाँ जिल्लास्थित हाल अलपत्र र रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरूको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ।’ 
 
साथै मन्त्रालयले त्यस्ता अलपत्र र रुग्ण योजना र आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय र निकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्न समेत सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।