एकीकृत समाजवादीले माग्यो दस्तावेजमा समावेश गर्न तल्लो तहको सुझाव

बैशाख १४,२०८१

-आस्था न्यूज

वैशाख १४, २०८१ काठमाडौं । 
नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा बनाउन तल्लो तहको सुझाव समावेश गर्ने भएको छ। पार्टीले मातहतका सात प्रदेश सम्पर्क कमिटी र ७४ जिल्ला सम्पर्क मञ्चसँग राय तथा सुझाव मागेको छ। 
 
आगामी जेठ मसान्त भित्र मातहतका सबै सम्पर्क कमिटीमा दस्तावेजबारे विस्तृत छलफल गरी केन्द्रमा राय, सुझाव बुझाउन समयसीमा निर्धारण गरिएको सो पार्टीले जनाएको छ। तल्लो तहदेखि आएको सुझाव समावेश गरी साझा प्रतिवेदन निर्माण गर्न दस्तावेजलाई परिस्कृत र परिमार्जित गरिनेछ। 
 
आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि असार १ गतेदेखि  प्रतिनिधि चयन गर्न लागेको पार्टी सचिव मेटमणि चौधरीले जानकारी दिए। पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीले सम्बन्धित प्रतिनिधिको नामवली आगामी जेठ दोस्रो सातासम्म सिफारिस गरी केन्द्रमा पठाउने छन्। 
 
पार्टी मातहत कमिटीले पठाएको नामावलीका आधारमा प्रतिनिधि छनोट गरिनेछ। पार्टी सदस्यता प्रमाणीकरणपछि उनीहरू मतदाता तथा उम्मेदवार बन्न पाउने छन्। सबै कमिटीले सम्बन्धित नेताको सङ्गठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्न र आफ्नो कार्य क्षेत्रका सदस्यलाई बैठक गरी त्यसको जानकारी गराउनु पर्नेछ।
 
पार्टी सदस्यता विस्तार तथा सङ्गठन सुदृढीकरण गर्न गत वर्ष माघ २५ गतेदेखि चैत २५ गतेसम्म महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरिएको थियो। सो अवधिमा पार्टी सदस्य व्यवस्थित तथा विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, वितरण गर्न सदस्यता शुल्क लगायत व्यवस्थित गरिएको पार्टीले जनाएको छ।