प्रदेश र संघ सरकारले बेवास्ता महोत्तरीका आगलागी पीडितको गुनासो

बैशाख १४,२०८१

-आस्था न्यूज

वैशाख १४, २०८१ काठमाडौं । 
महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीका आगलागी पीडितले नागरिकप्रति प्रदेश र संघ सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरुले संघ र प्रदेश सरकारले राहतको घोषणा चाँडोभन्दा चाँडो गर्नुपर्नेमा बेखबर हुनु शोभनीय नभएको बताए।
 
नागरिकहरु आगलागीबाट पीडित बन्दा पनि प्रदेश र संघ सरकारले कुनै पनि राहतको घोषणा नगर्नु दुःखको कुरा भएको उनीहरुको गुनासो छ।
 
गत बुधबार महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीमा आगलागी हुँदा एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएका थिए। मध्याह्न १२ बजे सल्केको आगो साँझ ६ बजे नियन्त्रणमा आएको थियो।
 
आगलागीबाट घरबारबिहीन भएकाहरु त्रिपालमुनि रात काट्न बाध्य छन्। उनीहरु गर्मी समयमा घरभित्रै बस्नुपर्ने बेलामा घाममा बस्नुपरेको र यसले अन्य रोगको जोखिम बढाउनेमा चिन्तित छन्। साथै प्रदेश र संघ सरकारले आगलागी पीडितका लागि राहत घोषणा नगर्दा राज्य छ भन्ने महशुस गर्न नसकेको बताए।
 
आगलागी भएको बस्तीमा अवलोकन एवं निरीक्षणका लागि पुगेका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रदेश र संघीय सरकारले चाँडोभन्दा चाँडो राहतको घोषणा गर्नुपर्नेमा बेखबर भएको बताए। उनले जनताको दुःखमा सरकार बेखबर हुनु दुःखद् कुरा भएको बताए। प्रदेश र संघ सरकारले कुनै राहत घोषणा नगरेको उनको भनाइ थियो।