गुल्मीको मदाने गाउँपालिका आगलागीबाट तीनवटा घरगोठ जलेर नष्ट

बैशाख १७,२०८१

-आस्था न्यूज

वैशाख १७, २०८१ काठमाडौं ।
गुल्मीको मदाने गाउँपालिका- ७, भनभनेमा आगलागीबाट ३ वटा घरगोठ जलेर नष्ट भएका छन् । स्थानीयको खरबारीमा लागेको आगो बस्तीमा सल्किँदा ३ वटा घर–गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
 
भनभनेको दीपक माध्यमिक विद्यालय नजिकैको वनबाट फैलिएको आगो बस्तीमा फैलिएपछि स्थानीय यमबहादुर घर्तीको ढुंगाले छाएको २ तले घर जलेर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।
 
त्यस्तै आगलागीबाट सोही वडाका सोमबहादुर घर्तीको ढुंगाले छाएको २ तले कच्ची घर, बंगालो र एउटा मिलसमेत जलेर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
 
आगलागीका कारण घरबारविहीन भएका नागरिकलाई गाउँमै सुरक्षित स्थानमा राखिएको छ। आगलागीबाट दीपक माध्यमिक विद्यालयको २ वटा शौचालय जलेर नष्ट भएका छन् । स्थानीयका परालको टौवा, दाउरा राख्ने कटकुरो, आरा मेसिन पूर्णरुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
 
आगो सुरक्षाकर्मी , जनप्रतिनिधि र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । गर्मी र सुख्खा मौसम सुरुभएसँगै भएको आगलागीले जिल्लाभर दर्जनौं घरगोठ पूर्ण क्षति भएका छन् ।
 
सयौं पशुचौपायले ज्यान गुमाएका छन् । वैशाख महिनामा सबैभन्दा बढी आगलागीका घटना भएका छन् ।
 
आगलागीबाट सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकामा भएको छ ।