उपनिर्वाचन मतपरिणामः एमालेका सुहाङको अग्रता कायमै

बैशाख १७,२०८१

-आस्था न्यूज

वैशाख १७, २०८१ काठमाडौं ।
प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता अन्तर बढाउँदै लगेका छन् । फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाका सबै वडा र माङसेबुङ वडा नम्बर १ को मत गणना सकिँदासम्म नेम्वाङ २ हजार ६१६ मतले अगाडि छन् ।
 
नेम्वाङले ८ हजार ८९८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८२ मत ल्याएका छन् ।
 
पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ६३४ मतसहित तेस्रो स्थानमा छन् ।
 
रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन् ।
 
एकीकृत समाजवादीका जितबहादुर राईले २ सय ४० मत पाएका छन् । मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुले २ सय ९ र जनमतका प्रेमकुमार थाम्सुहाङले ५४ मत पाएका छन् ।
 
डाकप्रसाद गौतमले शून्य मत पाएको निर्वाचन आयोगले जनाएको छ । इलाम नगरपालिका-७ इलाम घर भएका गौतम स्वतन्त्र उम्मेदवार हुन् । उनले महिला चुनाव चिन्ह पाएका थिए ।
 
१० मत पनि नकटाउने उम्मेदवार ५ जना रहेको आयोगले जनाएको छ ।
 
इलाम-२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।  उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।