मौसमः तराईमा तातो हावा चल्ने, अधिकांश भू-भागहरूमा तापक्रम बढ्दो

बैशाख १७,२०८१

-आस्था न्यूज

वैशाख १७, २०८१ काठमाडौं ।
विगत केही दिनदेखि देशका अधिकांश भू-भागहरूमा तापक्रम बढ्दो क्रममा छ । तराईका भू-भागहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार भैरहवामा सर्वाधिक गर्मी थियो । त्यहाँ अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, जनकपुरमा अधिकतम तापक्रम ४१.४ डिग्री सेल्सियस रहेको थियो ।
 
४० डिग्री वा सोभन्दा बढी तापक्रम रहेका अन्य स्थानमा सिमरा (४०.३ डिग्री सेल्सियस), विराटनगर ४०.२ डिग्री सेल्सियस तथा धरान ४० डिग्री सेल्सियस रहेका छन् ।
 
आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ। ती भू-भागहरूमा वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ । साथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको छ।