नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दाका लागि लिफ्ट सिँचाइ आयोजनाको काम सुरु

बैशाख १७,२०८१

-आस्था न्यूज

वैशाख १७, २०८१ काठमाडौं ।
तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुरु भएको छ ।
 
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले आइतबार ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना’को शिलान्यास गरेसँगै काम अघि बढाइएको हो ।
 
विदुर नगरपालिका–५ स्थित तादी खोलामा समवेल निर्माण गरेर दुई किलोमिटर उचाइको दूरीमा पर्ने विदुर–२ नुवाकोट दरबार क्षेत्रमा खानेपानी लैजाने पालिकाको महत्वकाङ्क्षी योजना कार्यान्वयनतर्फ अघि बढेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
 
खानेपानी तथा सरसफाइ डिभिजन नं २ धादिङमार्फत कार्यान्वयन गराउन लागिएको उक्त योजनामा चालु आर्थिक वर्षमा एक करोड बजेट प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष अच्युतम राजभण्डारीले जानकारी दिए ।
 
आगामी असार मसान्तसम्ममा नुवाकोट (विदुर–२ दरबार क्षेत्र) मा दुईलाख क्षमताको मुख्य वितरण ट्याङ्कीसहित एङ्गल ब्लक, पम्पघर, वेल्डिङ र समवेलको काम पूरा गर्ने कार्यादेश रहेको छ ।
 
यसका लागि बागमती प्रदेश सरकारबाट ८७ लाख १८ हजारसहित उपभोक्तामार्फत नौ लाख ६८ हजार बराबरको श्रमदानको काम हुनेछ ।
 
उक्त योजना सम्पन्न पश्चात् विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रका ६ सय घरधुरी लाभान्वित हुनेछन् । आयोजना पूरा गर्न १२ करोड लाग्ने बताइएको छ ।