पोखरामा प्रदूषणले हवाई उडान प्रभावित

बैशाख १७,२०८१

-आस्था न्यूज

वैशाख १७, २०८१ काठमाडौं ।
दैनिक ३३ फ्लाइटसम्म हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजभोलि प्रायः फ्लाइट क्यान्सिल भएका छन् । शनिवार एउटा पनि उडान भएन ।
 
आइतबार दिउँसो १ बजेदेखि एयरपोर्ट खुले पनि नियमित उडान हुन सकेन । आज पनि अहिलेसम्म एयरपोर्ट खुलेको छैन । शुक्रबार दिनभर विमानस्थल बन्द रह्यो । 
 
केही दिनयता पोखराको वायुमण्डल धुम्मिएको छ । जसका कारण विमान उडाउन चाहिने भिजिबिलिटी छैन । विमानस्थलको हेल्पडेक्सले शनिबार एक हजार मिटरमात्र भिजिबिलिटी रहेको देखाएको थियो । 
भिजिबिलिटी कम भएका कारण पोखराबाट जहाज उड्न नसकेको महाप्रबन्धक नवीना कर्माचार्यले बताइन् । आउन मिल्छ तर यताबाट उड्न मिलेको छैन, उनले भनिन्, पछिल्ला केही दिन एयरपोर्ट बन्दजस्तै छ । पोखराबाट काठमाडौँ, भैरहवा, भरतपुर, नेपालगञ्ज, मुस्ताङ लगायत ठाउँमा उडान हुँदै आएको छ । 
 
अन्तर्राष्ट्रिय वायु जाँच संस्था ‘आइक्युएयर’को तथ्याङ्कले पनि पोखरामा प्रदूषणको दर उच्च देखाएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) अनुसार आइतबार यहाँको वायु गुणस्तर १५६ रहेको छ । शनिबार यो तथ्याङ्क १८९ पुगेको थियो । अहिले पोखराको हावा निकै नै अस्वस्थकर रहेको उक्त विवरणले देखाएको छ ।
 
सामान्यतः एक्वुआई ५० सम्म हुनु राम्रो हो । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ भने १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ । त्यसपछि २०० सम्म अस्वस्थ र   ३०० पुगेपछि जोखिमपूर्ण हुने संकेत गर्छ । 
पृथ्वीनारायण क्याम्पसका प्राध्यापक जीवन रेग्मी लामो समय पानी नपरेकै कारण प्रदूषण अत्यधिक भएको बताउँछन् ।
 
खडेरी परेको ६ महिना भयो । पानी परेको छैन, ठुलो खालको हावाहुरी पनि चलेको छैन, उनी भन्छन्, अहिलेको समाधान भनेको पानी पर्नुपर्छ । नभए पनि ठुलो हावा चल्नुपर्छ । पुराना गाडीबाट निस्किने धुवाँको मुस्लो, सडक निर्माणको क्रममा उड्ने धुलोसँगै अहिले आगलागीका घटनाले प्रदूषण बढाएको हो । यस्तै, भारतका धेरै भागबाट आउने हावाले पनि फोहोर बोकेर ल्याउने रेग्मीले सुनाए । 
 
दीर्घकालीन समाधानका लागि स्थानीय स्तरमा जनचेतनासँगै नीति नियमको कार्यान्वयनलाई कडाइ गर्नुपर्ने उनले बताए । ञनीतिगत रूपमा स्थानीय तहबाटै जनचेतना चाहिन्छ । दुख पाएपछि मात्र आत्तिने चलन छ, उनले भने, डढेलो लगाउने प्रवृत्ति दण्डनीय अपराध हो भन्ने बुझाई हुनुपर्छ । नियमन आवश्यक छ ।
 
अहिले पोखराका अस्पतालहरूमा आँखा र श्वासप्रश्वासका बिरामी बढेका छन् भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन चिकित्सकहरूले सुझाएका छन् ।