वडा अध्यक्ष उजेर अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैशाख १७,२०८१

-आस्था न्यूज

वैशाख १७, २०८१ काठमाडौं ।
कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष उजेर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गरेको छ ।
 
वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
 
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडा अध्यक्ष अलीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत चैत १८ गते नियन्त्रणमा लिइएको थियो ।
 
अनुसन्धानको सिलसिलामा वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय र बिगो बमोजिम जरिवाना मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जनाएका छन् ।