एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार

बैशाख १७,२०८१

-आस्था न्यूज

वैशाख १७, २०८१ काठमाडौं ।
सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गरेका छ्न् ।
 
पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले जे भने पनि आफूहरुले समाज बदल्न भूमिका खेल्दै आएको जिकिर गरे ।
 
‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरु पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ म भन्न चाहन्छु’, नेता नेपालले भने ।
 
आफूहरुले समाज बदल्न र गणतन्त्र ल्याउनका लागि भूमिका खेलेको पनि बताए । ‘शान्ति प्रक्रियालाई अघि बढाउन भूमिका खेल्यौं । मुलुकमा निरंकुश शासन ढाल्नका लागि पनि महत्वपूर्ण भुमिका खेल्यौं । जनतालाई न्याय दिलाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्यौं । महिला अधिकारका लागि पनि भूमिका खेल्यौं’, नेता नेपालले भने ।