चिनिया कम्पनीसँगको साझेदारीमा कोशी मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने

बैशाख १७,२०८१

-आस्था न्यूज

वैशाख १७, २०८१ काठमाडौं ।
चिनिया कम्पनीसँगको साझेदारीमा विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ ।
 
चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा कोशी एन के मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो ।
 
नेपालमा आइतबारबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ । लगानी सम्मेलन चलिरहेको समयमा सोमबार चीनको फुजियन प्रान्तमा रहेको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिले चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौता गरेका हुन् । दुई कम्पनीले पहिलो चरणमा तीन अर्ब लगानी गर्नेछन् ।
 
एक वर्षभित्र विराटनगरमा चार पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य रहेको कोशी एन के मोटर्स प्रालिका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।
 
कोशी मोटर्सले चिनिया कम्पनीसँगको सहकार्यमा बस उत्पादन गर्ने लक्ष्य लिएको छ । सम्झौता अनुसार उत्पादन सुरु भए कोशी मोटर्स ठूला सवारी उत्पादन गर्ने पहिलो कम्पनी हुनेछ ।
 
स्यामन गोल्डेन चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी र पार्ट्स उत्पादन गर्ने चिनियाँ कम्पनी हो । यो कम्पनीले अन्य विद्युतीय सवारी उत्पादकलाई पनि गाडीका पार्टसहरु बिक्री गर्छ ।
 
नेपालको आवश्यकता र परिवेश अनुसार चिनियाँ र कोरियन प्रविधिमा आधारित चार पाङ्ग्रे विद्युतीय सवारी उत्पादन हुने पुरीले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडी उत्पादन प्लान्ट स्थापनाका लागि मोरङको बुढीगंगामा १५ विघा जग्गा तयारी अवस्थामा छ ।
 
एक वर्षभित्र सवारी उत्पादन गर्नेगरी पहिलो चरणमा तीन अर्ब लगानी गरिने अध्यक्ष पुरीले बताए । यो सम्झौताले आर्थिक मन्दीलाई चिर्दै नेपालमा लगानीको वातावरण रहेको सन्देश दिने उनको भनाइ छ ।