स्पेनिस ला लिगाः बार्सिलोनाको जितमा लेवान्दोस्कीको ह्याट्रिक

बैशाख १८,२०८१

-आस्था न्यूज

बैशाख १८, २०८१ काठमाडौं ।
रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई ४-२ गोल अन्तरले हराएको छ । नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि लेवान्दोस्कीले ह्याट्रिक गर्दा फर्मिन लोपेजले एक गोल गरे । 
 
खेलको २२औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नै भ्यालेन्सिया खेलमा फर्कियो । ह्युगो डुरोले २७औँ मिनेटमा गोल गरे । ३८औँ मिनेटमा भ्यालेन्सियाले पेनाल्टी पाउँदा पापेलुले गोल गरे र अग्रता दिलाए । 
 
पहिलो हाफको इन्ज्युरी समयमा भ्यालेन्सिया गोलकिपर जियोर्जी मामारडासभिली रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि दोस्रो हाफ पुरै दबाबमा पर्यो । जसको फाइदा उठाउँदै लेवान्दोस्कीले तीन गोल गरे । उनले ४९, ८२ र अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
 
जीतका बाबजुत बार्सिलोना रियल मड्रिडभन्दा ११ अंकले पछि छ । ३३ खेलबाट रियल मड्रिड ८४ अंकका साथ शीर्ष स्थानमा छ भने बार्सिलोना ७३ अंकका साथ दोस्रो स्थानमा छ ।