बागमतीका सरकारी कार्यालयमा अबदेखि तामाङ र नेपाल भाषा प्रयोगमा आउने

बैशाख १८,२०८१

-आस्था न्यूज

बैैशाख १८, २०८१ काठमाडौँ । 
बागमती प्रदेश सरकारले वैशाख २४ गतेबाट प्रदेशभरको सरकारी कार्यालयमा कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने भएको छ।
 
प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदाको घोषणा गर्दै सोही दिनबाट प्रदेशभरको सरकारी कार्यालयबाट कामकाजको लागि तामाङ तथा नेपाल भाषाको औपचारिक शुभारम्भ गर्नेछ। सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गर्ने औपचारिक घोषणाको तयारी थालिएको छ।
 
काठमाडौंको वसन्तपुरमा भव्य कार्यक्रमको आयोजनाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २४ गते बिहान ९ बजे प्रदेशभर कामकाजी भाषाको रूपमा तामाङ र नेपाल भाषाको शुभारम्भ गर्नेछन्। कार्यक्रमको लागि बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यकों संयोजकत्वमा ३० सय ३ सदस्यीय विशेष समारोह समिति निर्माण गरिएको छ।
 
समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै अन्य तामाङ संघ संस्थाहरू र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुकाहरु सदस्य रहेका छन्।
 
सरकारको निर्णय अनुसार वैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा ९देवनागरी०, तामाङ भाषा ९तामयिक० र नेपाल भाषा (रन्जना) मा लेखिएका राखिने मन्त्री बज्राचार्यले बताए।
 
प्रदेश सरकारले भाषा ऐन पारित गरेर राजपत्रमा प्रकाशन गरेपछि २४ गतेबाट ऐनको कार्यान्वयन हुने भएको कारण सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री बज्राचार्यले बताए।
 
सरकारले गत वर्ष कार्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो। राजपत्रमा प्रकाशित भएर पनि कार्यान्वयनमा आउन नसकेको ऐनलाई विशेष कार्यक्रमको आयोजना गरेर लागु गर्ने सम्पूर्ण तयारी सुरु भैसकेको उनको भनाई रहेको छ।
 
यस्तो छ बागमती प्रदेशमा जातीय अवस्था
नेपाल सरकारले २०७८ मा गरेको जनगणना अनुसार अनुसार बाग्मती प्रदेशको जनसङ्ख्या ६,११६,८६६ रहेको छ जसमा ३०,६८,१८२ महिला र ३०, ४८, ६८४पुरुष रहेका छन्। यस प्रदेशको जनसङ्ख्याको नेपालको कुल जनसङ्ख्याको २०।९७ प्रतिशत रहेको छ भने यस प्रदेश देशको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश समेत हो।
 
बागमती प्रदेशमा सबैभन्दा धेरै तामाङ जातिको बाहुल्यता रहेको जनगणनाले देखाएको छ। यहाँ १९.९ प्रतिशत तामाङ जातिको बसोबास रहेको छ। दोस्रो नम्बरमा ब्राह्मण (पहाड) को जनसंख्या १७.८, क्षेत्रीको १७.४ र चौथो स्थानमा रहेको नेवारको जनसंख्या १५.६ प्रतिशत रहेको छ। बागमतीमा ५.१ मगर, २.७ विश्वकर्मा, २.३ गुरुङ, १.८ राई, १.८ थारु तथा १.५ प्रतिशत परियार बसोबास गर्छन्।