बडीखेल जङ्गलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

आनन्द वन कुष्ठरोग अस्पताल पनि जोखिममा

बैशाख १८,२०८१

-आस्था न्यूज

बैैशाख १८, २०८१ काठमाडौँ । 
ललितपुरको गोदावरी नगरपालिका–४ बडीखेल जङ्गलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको ज्यान गएको छ ।
 
आगलागीमा परि स्थनीय शंकर पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँको उपचारका क्रममा कीर्तिपुर जलन उपचार अस्पतालमा ज्यान गएको एसपी सुवेदीले बताउनुभयो ।
 
बडीखेल जङ्गलमा लागेको डढेलो निभाउने क्रममा आज शंकर र रमेश पहरी घाइते भएका थिए । रमेशको अहिले कीर्तिपुर जलन उपचार अस्पतालमै उपचार भइरहेको छ ।
 
वडा नम्बर ३ को फूलचोकी जङ्गल क्षेत्रबाट शुरु भएको डढेलो फैलिएर वडा नम्बर ४, ५ र ६ मा पुगेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिनुभयो । डढेलो फैलिएपछि वडा नम्बर ६ को आनन्द वन कुष्ठरोग अस्पताल पनि जोखिममा परेको छ । अस्पतालका ९३ जना बिरामीलाई अन्तै सारिएको छ । आनन्द वन अस्पतालमा कुष्ठरोगीको उपचार हुँदै आएको छ ।
 
डढेलो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रक तथा चार वटा दमलकसहितको टोली परिचालन गरिएको छ ।