उपत्यकाको वायु विश्वकै अस्वस्थकर सूचीमा, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

बैशाख १८,२०८१

-आस्था न्यूज

बैशाख १८, २०८१ काठमाडौँ । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । 
 
मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।
 
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वायु प्रदूषण उच्च विन्दुमा पुगेको बताउँदै अनिवार्य मास्क लगाउन आग्रह गरेको हो।
 
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, काठमाडौंमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन,यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरिएको छ।
 
विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स – र्‍याकिङ्ग’अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ ।
 
वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्‍याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ, जारी विज्ञप्तिमा उल्लेख छ । 
 
नेपालमा वायु प्रदुषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँचवर्ष मुनिका बालबालिका,गर्भवती,दीर्घ रोगी र वृद्धवृद्धा बढी छन् । यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्याङक छ ।
 
नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको प्रवक्ता बुढाथोकी बताए । गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडहुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउनु हुन मन्त्रालयले अनुरोध गरेको छ ।
 
मन्त्रालयका अनुसार गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको छ।