नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा २ जना पक्राउ

बैशाख १९,२०८१

-आस्था न्यूज

वैशाख १९, २०८१ काठमाडौं।
पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
 
दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले पुष्टि गरे । अनुसन्धान भइरहेकाले उनीहरुको विवरण प्रहरीले गोप्य राखेको छ ।
 
चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।
 
सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट एक करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको थियो । चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको छ ।
 
चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ । सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
 
ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ ।
 
५/६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएका थिए । दुई जना पक्राउ परे पनि रकम भने प्रहरीले थोरै मात्रामा बरामद गरेको छ । बाँकी रकम भारत पुर्‍याइसकेको आशंका प्रहरीले गरेको छ ।