क्रिकेटः नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज

बैशाख २०,२०८१

-आस्था न्यूज

वैशाख २०, २०८१ काठमाडौं ।
वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौथो खेल खेल्दैछ । खेल मध्याह्न सवा १२ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
 
पाँच खेलको सिरिजमा वेस्टइन्डिज ‘ए’ले अघिल्ला ३ खेलमा दुई वटामा जितेको छ भने एउटामा हार व्यहोरेको छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नैपर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएपनि त्यसपछि दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।
 
नेपालले अर्को महिना वेस्टइन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेकाले यो खेल नेपाली टोलीका लागि परीक्षा हुनेछ । कप्तान रोहितले सुरुआती दुई खेलमा ११२ र ७१ रन बनाएका थिए । तेस्रो खेलमा भने विश्राम गर्दै दीपेन्द्रलाई कप्तानी दिएका थिए । आज उनी खेलमा फर्किनेछन् ।