अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार

बैशाख २२,२०८१

-आस्था न्यूज

वैशाख २२, २०८१ काठमाडौं ।
 
सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो । 
 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको बताए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा शुक्रबार भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 
 
बैठकले अग्निपीडितलाई दुई किस्तामा रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत पोखरेलले दिए । ‘विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अनुसार उक्त रकम प्रदान गरिनेछ । कार्यविधिअनुसार आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरीबतासबाट घरबास गुमाएका परिवारलाई अस्थायी आवास बनाउन २५ हजारका दरले दुई किस्तामा रकम प्रदान गरिने छ ।