वनमा आगो लगाएको अभियोगमा काभ्रेमा पाँच जना पक्राउ

बैशाख २३,२०८१

-आस्था न्यूज

बैशाख २३, २०८१ काठमाडौं ।
जङ्गलमा आगो लगाएको अभियोगमा काभ्रेमा पाँच जना  पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले  जनाएका छन् । 
 
पाँचखाल नगरपालिका-५  रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको अभियोगमा मण्डनदेउपुर नगरपालिका-११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नपा–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अन्यलाई मुद्दा चलाइएको उनले बताए । 
 
डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ । रोशी गाउँपालिका-४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो ।