जापानी विदेशमन्त्री कामीकावा काठमाडौंमा

बैशाख २३,२०८१

-आस्था न्यूज

वैशाख २३, २०८१ काठमाडौं ।
जापानका विदेशमन्त्री कामीकावा योको एक दिने भ्रमणका लागि नेपाल आइपुगेकी हुन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाली भ्रमणमा आएकी हुन् । उनलाई एयरपोर्टमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका थिए । 
 
एयरपोर्टबाट उनी सिधै होटल लागेका छन् । २ः३० बजे दरवार स्क्वायरको भ्रमण गर्नेछिन् भने तीन बजे परराष्ट्र मन्त्रालयमा मन्त्री श्रेष्ठसँग उनको दुई पक्षीय वार्ता हुने बताइएको छ । 
 
३ः३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गरेपछि चार बजे प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दुई पक्षीय शिष्टाचार भेटघाट हुने बताइएको छ । 
 
प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी पुनः होटल फर्किने कार्यक्रम रहेको छ । साँझ ६ बजे परराष्ट्र मन्त्री श्रेष्ठले सोल्टी होटलमा दिने डिनरमा विदेश मन्त्री कामीकावाका सहभागी हुने छिन् । डिनरपछि साँझ ७ बजे राष्ट्रपतिसँग मन्त्री कामीकावाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
 
राष्ट्रपति पौडेलसँगको भेटघाटपछि ८ः३५ बजे जापनिज पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ । पत्रकारसँग भेटघाटपछि उनी राती १० बजे जापान फर्किने कार्यक्रम रहेको बताइएको छ । 
 
परराष्ट्रका प्रवक्ता अमृतबहादुर राईले विदेश मन्त्री कामीकावाको नेपाल भ्रमणको क्रममा कुनै सम्झौता तथा समझदारी नहुने बताए । यो मैत्रीपूर्ण भ्रमण हो, भ्रमणको क्रममा दुई देश बिचको सम्बन्ध, विकास निर्माण, जापानले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी हुने उनले बताए । 
 
नेपाल र जापान बिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । ६८ वर्ष पुरानो सम्बन्धमा जापानबाट विदेश मन्त्रीहरूको यो चौथो भ्रमण हो भने सन् २०१९ पछि विदेश मन्त्रीको कामीकावाको पहिलो नेपाल भ्रमण हो ।
 
नेपालमा भारत, चीन र अमेरिकाको प्रभाव रहेको बेला चीनले महत्वको साथ हेरेको कारण यो भ्रमणलाई कूटनीति हिसाबले महत्त्वपूर्ण मानिएको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् । 
 
खासगरि नेपालमा पछिल्लो समय चीनको बढ्दो प्रभावका कारण जापानका विदेश मन्त्री कामीकावाले श्रीलंकासहित एसियाली मुलुकहरुको भ्रमण गर्दै नेपाल आउन आएकी हुन् । अमेरिका र चीन बिच बढ्दो द्वन्द्व जापान अमेरिकाको मित्र शक्ति बनेको छ । 
 
सन १९५६ सेप्टेम्बर १ तारिकका दिन नेपाल र जापानबीच औपचारिक कूटनैतिक संबन्ध स्थापना भएपश्चात आपसी सम्बन्धका विविध पक्षहरूमा बिस्तार हुँदै गएको जापानस्थित नेपाली दूतावासले जनाएको छ ।  
 
दुबै देशहरूमा आवासीय राजदूतावास स्थापना हुनुअघि नयाँ दिल्लीस्थित आ–आफ्नो राजदूतहरूलाई नै नेपाल तथा जापानका लागि पनि राजदूतका रूपमा नियुक्त गरेका थिए । 
 
सन १९६५ मा मात्र जापानमा नेपाली राजदूतावासको स्थापना भएको थियो र त्यहाँ भरत राज राजभण्डारीलाई पहिलो राजदूतको रूपमा नियुक्त गरेको जपानमा रहेको नेपाली दूतावासले जनाएको छ । 
 
त्यसपछि सन् १९६८ मा काठमाण्डौंमा पनि आवासीय जापानी राजदूतावासको स्थापना गरी पहिलो राजदूतको रूपमा हिदेमिची किरालाई नियुक्त गरेको थियो ।