वर्तमान सत्ता समीकरण दायाँबायाँ गर्ने पक्षमा नेकपा एस छैनः झलनाथ खनाल

बैशाख २३,२०८१

-आस्था न्यूज

बैशाख २३, २०८१ काठमाडौं ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता समीकरण दायाँबायाँ गर्ने पक्षमा नेकपा एकीकृत समाजवादी नभएको बताएका छन् ।
 
आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरी उनले वामपन्थी गठबन्धन बनाउने विषयमा पार्टीले गरेको संस्थागत निर्णयमा कुनै परिवर्तन नहुने बताएका हुन् । 
 
उनले पार्टीको निर्णयविपरीत कुनै व्यक्ति विशेषले बाहिर बोल्नुभन्दा पनि आन्तरिक बैठकमा नै छलफल गर्नुपर्ने भनाइ राखे ।  
 
‘वामपन्थी गठबन्धन बनाएर जाने भनेर नै एकीकृत समाजवादीले संस्थागत निर्णय गरेको हो । हामीले मन्त्रीहरूसमेत पठाइसकेका छौँ । यो सिलसिलामा कुनै व्यक्ति विशेषलाई केही कुरा मन लागेको छैन । चित्त बुझेको छैन भने त्यो पार्टीभित्रै छलफल गर्ने विषय हो । बाहिर बन्दै हिँड्ने विषय होइन’, प्रधानमन्त्रीसँग भेटपछि रातोपाटीसँग खनालले भने, ‘त्यस कारण हाम्रो पार्टी अहिले तलमाथि देब्रे दाहिने हुनेवाला छैन । अहिलेको गठबन्धनमा कुनै खतरा छैन ।’
 
भेटवार्तामा  गठबन्धनमा कुनै समस्या नभएकोमा प्रधानमन्त्री प्रचण्ड पनि निश्चिन्त भएको जानकारी दिए । वैकल्पिक गठबन्धनको पक्षमा अध्यक्ष माधव नेपालसहित उच्च नेताहरूले अभिव्यक्ति दिएपछि गठबन्धनमाथि सङ्कट आएको अनुमानबिच उनले प्रधानमन्त्रीलाई भेट गरेका हुन् ।