जसपा फुट्यो, अशोक राईको समूह निर्वाचन आयोगमा

बैशाख २३,२०८१

-आस्था न्यूज

बैशाख २३, २०८१ काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) फेरि फुटेको छ । संघीय परिषद् अध्यक्ष ओशक राईले बहुमत सांसदको समर्थनमा आफ्नो नेतृत्वमा नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
 
प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् । मन्त्री यादव अमेरिका भ्रमणमा रहेका बेला बहाल वाला वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी समेतको संलग्नतामा अशोक राई समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् ।
 
नयाँ दलमा राई र सुडीसँगै प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ खुलेका छन् । दल दर्ताको निवेदन दिन उनीहरु सबै आयोग पुगेका थिए ।
 
नयाँ दलको नाम जनता समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसको अध्यक्षमा अशोक राई र संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलाई प्रस्ताव गरिएको छ ।
 
केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जना पनि नयाँ दलमा रहेको सांसद प्रदीप यादवले जानकारी दिए ।