जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति नै फर्किए उपप्रधानमन्त्री उपेन्द्र यादव

बैशाख २५,२०८१

-आस्था न्यूज

बैशाख २५, २०८१ काठमाडौं ।
अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) फर्किँदासम्म दुई टुक्रा भइसकेको छ ।
 
यादव मंगलबार सबेरै बिहान १ बजे कतार एयरवेजको जहाजबाट काठमाडौं उत्रिँदा स्वास्थ्य मन्त्रालयका केही कर्मचारी र जसपा कार्यकर्ताले खादा र मालाले स्वागत गरे। 
 
यादव अमेरिकबाट काठमाडौं आइनपुग्दै जसपा विभाजन गरेर संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ दल खोलिसकेका छन् । जसपाका १२ मध्ये ७ सांसद राईले लगिसकेका छन् ।
 
अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गत शनिबार बेलुकी यादव अमेरिका गएका थिए । तर एक सातामा नेपाल फर्किँदा यादवले पार्टी विभाजनको नराम्रो चोट सहन पुगे ।
 
उनले नेपाल टेक्न नपाउँदै यादवको दल जसपा नेपाल अब प्रतिनिधिसभामा १२ सिटबाट घटेर ५ मा सीमित भएको छ ।
 
यादवले अमेरिकाबाट कतार हुँदै काठमाडौं टेकिनसक्दा अशोक राईले जनता समाजवादी पार्टी (जनता समाजवादी) लाई निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्रसमेत लिइसकेका छन् ।
 
पूर्वशिक्षामन्त्रीसमेत रहेका राईले नयाँ दल दर्ता गर्दा केन्द्रीय कमिटीबाट पनि ३० जना नेतालाई आफ्नो पक्षमा पारिसकेका छन् । राई नेतृत्वको पार्टीलाई औपचारिक रुपमा दलको मान्यता मिलेको छ । अर्थात् यादवले पार्टी विभाजन रोक्ने मौकासमेत पाएनन् ।
 
राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, रञ्जु ठाकुर, बहालवाला मन्त्री नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खातुन जोडिएका छन् ।