त्रिवि सुधारका लागि विभिन्न ५ वटा समिति गठन

बैशाख २५,२०८१

-आस्था न्यूज

वैशाख २५, २०८१ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय सुधारका लागि विभिन्न ५ वटा समिति गठन गरिएका छन् । ती समितिहरूले आफ्नो काम गरिरहेका छन् । 
 
त्रिविले उत्तरपुस्तिका हराएको विषयमा अध्ययन गर्न पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो । उक्त समितिले अध्ययन गरेर आफ्नो प्रतिवेदन त्रिविलाई बुझाइसकेको छ । 
 
त्यस्तै प्राडा नवराज कँडेलको संयोजकत्वमा जनशक्ति तथा दरबन्दी पुनरावलोकन एवं व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै प्राडा भिमसेन देवकोटाको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ । उक्त समितिले त्रिविको दृष्टिकोण २०३० र उपकुलपतिको सोचपत्रबिच तादात्म्यता मिलाई विश्वविद्यालयमा नीतिगत एकरूपता कायम गर्न सुझाव दिनेछ । 
 
त्यस्तै प्राडा पुष्कर बज्राचार्यको संयोजकत्वमा पदाधिकारी नियुक्त गर्दा अपनाउनुपर्ने आधार र मापदण्ड तयार गरी सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ । 
 
नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले त्रिविमा देखिएका विविध समस्या समाधान गर्न समितिहरू गठन गरेका हुन् ।