९ महिनाको अवधिमा २२४ वटा निर्माण कम्पनी कालोसूचीमा

बैशाख २८,२०८१

-आस्था न्यूज

वैशाख २८, २०८१ काठमाडौं ।
चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै २२४ निर्माण कम्पनी कालोसूचिमा परेका छन्। 
 
सरकारले विकास निर्माणको ठेक्का लिएर खरिद सम्झौता बमोजिम समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा अन्य विभिन्न कारणले पछिल्लो ९ महिनामा २२४ निर्माण कम्पनी कालोसूचिमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।
 
निर्माण कम्पनीहरुले सम्झौता बमोजिम काम सम्पन्न नगरेपछि सार्वजनिक निकायले कालोसूचिमा राख्न सिफारिसका आधारमा कार्यालयले तथ्यमा आधारित भएर कालोसूचीमा राख्ने गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता विष्णुप्रसाद शर्माले बताए। 
 
उनले सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीहरुलाई आफैँ कालोसूचिमा राख्ने नगरेको बताए। उनले सरकारले गरेको सिफारिसपछि तथ्यमा आधारित भएर कालोसूचीमा राखिने बताए। 
 
प्रवक्ता शर्माले चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा २२४ निर्माण कम्पनी कालोसूचीमा परेको जानकारी दिए। उनले कालोसूची पर्नुमा सबै निर्माण कम्पनीको मात्रै दोष नदेखिने गरेको पनि बताए। उनले सार्वजनिक निकायहरुले पनि निर्माण कम्पनीलाई काम लगाउन नसक्ने लगायतका कारणले पनि निर्माण कम्पनीहरु कालोसूचीमा पर्ने क्रम बढेको बताए। 
 
उनले सार्वजनिक निकायहरुले निर्माण कम्पनीलाई बायस भएर पनि कालोसूचीमा राख्न सिफारिस हुने गरेको दाबी गरे। उनले सार्वजनिक खरिद अनुगमन कार्यालयले त्यस्तो बायसका आधारमा कालोसूचीमा राख्न सिफारिस गर्ने सरकार निकायका विभागीय प्रमुखलाई पनि कारबाहीको लागि पत्र पठाउने गरेको बताए। 
 
उनले चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा १२ जना भन्दा बढी कर्मचारीहरुलाई कारबाहीको लागि पत्र पठाएको बताए। उनले कम्पनीले लिएको ठेक्का सम्झौताअनुसार समयमा नै निर्माण कार्य सम्पन्न गर्ने, गुणस्तरमा सम्झौता नगर्ने, कम्पनीले ठेक्का परेपछि स्वीकार गर्ने र व्यवसायीहरु सचेत भएर काम गरे कालोसूचिमा पर्ने समस्या कम हुँदै जाने बताए। 
 
सार्वजनिक खरिद ऐनको दफा ६३ ले समयमा निर्माण कार्य नगर्ने कम्पनीहरुलाई कालोसूचिमा राख्न पाउने व्यवस्था गरेको छ। विभिन्न बुँदामा व्याख्या पनि गरेको छ। निर्माण कम्पनीहरुको लागि तोकिएका आचरणहरु पालना नगरे कालोसूचिमा राख्ने प्रावधान छ।
 
सार्वजनिक खरिद ऐनको दफा २७ वा ३८ बमोजिम स्वीकृतको लागि छनोट भएका बोलपत्र दाता वा प्रश्ताव दाताहरु खरिद सम्झौता गर्न आएनन् भने पनि कालोसूचीमा राखिन्छ। टेण्डरमा भाग लिएर टेण्डर पर्‍यो तर खरिद सम्झौता गर्न आएनन् भने कालोसूचीमा राख्नसक्ने व्यवस्था छ।
 
खरिद सम्झौता कार्यान्वयन गर्दै जाँदा त्रुटी गरेको वा खरिद सम्झौता अनुसारको दायित्व पूरा गर्न नसकेको अवस्थामा कम्पनीहरु कालोसूचीमा पर्ने गर्दछन्। सार्वजनिक खरिदमा भाग लिन अयोग्य फौजदारी कसुर गरेको वा फौजदारी कसुर अदालतबाट दोषी प्रमाणित भएर आएकोलाई पनि कोलोसूचीमा राखिन्छ। योग्यता ढाँटेर वा झुक्याएर खरिद सम्झौता गरेको प्रमाणित भएकाहरु पनि कालोसूचिमा पर्ने गर्दछन्।