अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्‍याएर बन्धक बनाउने ३ जना पक्राउ

बैशाख २८,२०८१

-आस्था न्यूज

वैशाख २८, २०८१ काठमाडौं ।
अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्‍याएर ९ महिनासम्म बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ घर भएका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोकको साविक कर्थली गाविसकी ४२ वर्षीया ङिमबुटी शेर्पा र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कि १९ वर्षीया निमा शेर्पा छन् ।
 
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । यो समूहले १० जना युवाहरुलाई अमेरिका पठाउने भन्दै साढे ५ करोड रुपैयाँ लिएर केन्या पुर्‍याएर बन्धक बनाएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।
 
वैदेशिक रोजगारीका लागि अमेरिका, क्यानडालगायतका देशहरुमा पठाइदिन्छु भन्दै विश्वासमा पारेर ठगी गरेको खुलेको छ । एसएसपी भट्टराईका अनुसार ङिमबुटी शेर्पाले आफ्ना श्रीमान दावा तथा टासी शेर्पाले आफ्ना छोरालाई अवैध बाटोबाट अमेरिका पठाएको बताउँदै युवाहरुलाई विश्वास दिलाउने गरेका थिए ।
 
श्रीमान र छोरालाई अमेरिका पठाएजस्तै जान चाहनेलाई फुड प्याकिङमा अमेरिका पठाउने र मासिक ४ लाख आम्दानी हुने प्रलोभन उनीहरुले देखाएपछि युवाहरुले विश्वास गरेको खुलेको एसएसपी भट्टराईले बताए ।
 
अमेरिका जान इच्छुक भएपछ भिसा निकाल्नका लागि भन्दै सुरुमा ५ लाख रुपैयाँ उनीहरुले लिएका थिए । त्यसको २, ३ दिनपछि भिसा आइसक्यो टिकटका लागि भन्दै थप ५–७ लाख रुपैयाँ उठाइएको खुलेको छ । डलर सटहीका लागि ५ लाख र अन्य विभिन्न शीर्षकमा गरी प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म असुलेर उनीहरुले १० युवालाई केन्यासम्म पठाएर बन्धक बनाएको खुलेको छ ।
 
काठमाडौंबाट दुबई हुँदै केन्याको राजधानी नैरोबी पुर्‍याएपछि अफ्रिकन मूलका एजेन्टले नेपाली युवाहरुलाई लिन आएका थिए । ट्याक्सीमा राखेर उनीहरुलाई केन्याको जिम्मारमानस्थित भाडामा लिइराखेको घरको २ वटा फ्ल्याटमा ६ महिनासम्म राखिएको थियो ।
 
उक्त घरमा पुर्‍याएपछि पीडित युवाहरुको साथमा रहेको रकम समेत एजेन्टले लिएर कागजात समेत नियन्त्रणमा लिएका थिए । ‘काम हुँदैछ’ भन्दै उनीहरुलाई ६ महिनासम्म विश्वासमा दिलाउँदै राखिएको थियो । प्रहरीले दुख दिन्छ भन्दै बेलाबेलामा कोठा समेत एजेन्टहरु सार्ने गरेको पीडित युवाहरुले प्रहरी समक्ष बताएका छन् ।