सभामुख नेताहरूसँग छुट्टाछुट्टै संवादमा

बैशाख २८,२०८१

-आस्था न्यूज

वैशाख २८, २०८१ काठमाडौं ।
प्रतिनिधि सभाको बैठकलाई सौहार्द बनाउन सभामुख देवराज घिमिरेले नेताहरूसँग छुट्टाछुट्टै संवाद गरिरहेका छन् ।
 
अधिवेशनको पहिलो दिन नै प्रतिनिधि सभामा अवरोध हुन नदिन सभामुखले पहल जारी राखेको नेताहरू बताउँछन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरूसँग छुट्टाछुट्टै संवाद गरिरहेका छन् ।
 
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको थियो । त्यस अगाडि साढे १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको थियो । तर दिउँसो सवा २ बजेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेको छैन ।
 
बिहान दलहरूको संसदीय दलको बैठक रहेको र दलका बैठक लम्बिएका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक समयमै सुरु हुन नसकेको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् ।
 
अहिले सभामुख घिमिरेले दलहरूसँग संवाद गरिरहेका छन् । कांग्रेसले सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने अडान लिएको छ ।
 
सभामुख घिमिरेले पहिलो दिन दलीय आधारमा नेताहरूलाई बोल्न दिने र त्यसपछि दलहरूका आफ्ना कुरा राख्न सक्ने वातावरणका लागि कांग्रेससँग आग्रह गरेका छन् । यसका लागि विधेयक अगाडि बढाउने लगायतका कार्यसूची झिकेर जान सकिने सभामुख घिमिरेको प्रस्ताव रहेको छ ।
 
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची छ । सभामुख घिमिरिले बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनको जानकारी पनि गराउने छन् ।
 
दलीय आधारमा नेताहरूले बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची छ ।