मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

बैशाख २८,२०८१

-रासस

वैशाख २८, २०८१ काठमाडौं ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्त्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो ।
 
गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १० दशमलव पाँच किलोमिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताउनुभयो ।
 
इमाटोल कन्ट्रक्सशले २०७६ साल साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना २०७७ साल फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पेस्कीबापत लगेको ९७ लाख रुपैयाँ फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायीले गएको जेठमा काममा फर्किएर पूर्णता दिएका हुन् ।
 
यो सडकको निर्माण अवधि कोरोना महामारी, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण लम्बिएको निर्माण कम्पनीका प्रतिनिधि सुदीप खड्काले बताउनुभयो । प्रारम्भमा २१ करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडकको लागत बढेर २४ करोड रुपैयाँ पुगेको छ ।
 
अहिलेसम्म १८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । सडकको घुम्ती, ग्रेड सुधार र नाली निर्माणका साथै आठ मिटरका दरले ग्राभेल भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्राविधिक सतिश पनेरुले बताउनुभयो । राष्ट्रिय राजमार्गको विकल्पको साथै धेरै बस्तीलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्त्वको मानिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताउनुभयो ।
 
स्थानीयवासी, पर्यटक र व्यवसायीलाई गाउँपालिकाको केन्द्र र कोरलानाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ । स्तरोन्नतिको क्रममा रहेको चराङ–छोसेर खण्ड जीर्ण भएको र नदीमा मोटरेबल पुल निर्माण नसकिएकाले कोरला नाका जानेरआउने गाडीले प्रदेश सरकारले बनाएको सडक प्रयोग गरिरहेका छन् ।
 
लोमान्थाङबाट पुवा हुँदै चक्रपथको किमलिङ जोड्ने तीन दशमलव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको छ । यसैगरी न्यानोल–सम्जोङ–छोसेर–चेनुङ जोड्ने अर्को छ दशमलव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।