चट्टान आरोहणका क्रममा लडेर घाइते भएका सूचन राइको मृत्यु

बैशाख २८,२०८१

-रासस

वैशाख २८, २०८१ काठमाडौं ।
साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ ।
 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(५ लफ्याङस्थित मझुवागढी भीरमा रक क्लाइम्बिङ गर्दैगर्दा लडेर गम्भीर घाइते बनेका सूचनको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।
 
भीरबाट लडेपछि उपचारका लागि बेलुकी ६ः३० बजे जिल्ला अस्पताल खोटाङ पुर्‍याइएका सूचनलाई चिकित्सकले ७:४० बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले राससलाई जानकारी दिए । मृतक सूचनको शव परीक्षणका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
 
दिक्तेलस्थित हाटडाँडा बस्दै आएका सूचन बिहीबार बेलुकी पख साथीहरुसँग रक क्लाइम्बिङ गर्न मझुवागढी भीर पुगेका थिए ।
 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत चैतमा आयोजना गरेको रक क्लाइम्बिङ सम्बन्धी छ दिने तालिममा समेत सहभागी भएका सूचन के कारणले लडेको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
 
करिब ३२ मिटर अग्लो मझुवागढी भीरमा नेपाल नेसनल माउन्टेन गाइडले रक क्लाइम्बिङ निर्माण गरिदिएको छ । किराँत ऐतिहासिकस्थल मझुवागढी क्षेत्रमा पर्ने मझुवागढी भीरमा रक क्लाइम्बिङको परीक्षण सफल भएको नगरपालिकाले जनाएको थियो ।