संसद् चल्न नदिने कांग्रेसको अडानले सभामुखसँगको छलफलमा जुटेन सहमति

बैशाख २८,२०८१

-आस्था न्यूज

वैशाख २८, २०८१ काठमाडौं ।
प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सभामुख देवराज घिमिरेले दुई चरणमा गरेको छलफलमा सहमति विहीन भएको छ । 
 
शुक्रबार दिउँसो नयाँ बानेश्वरमा दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दा कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि शुक्रबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पछि धकेलिएको छ । 
 
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने,‘सभामुखले दुई चरणमा प्रमुख सचेतक र सचेकहरुसँग छलफल गर्नुभएको छ । कांग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरूलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिन सहमति जनाएन ।’ 
 
सभामुखसँग छलफलमा कांग्रेस सहमत नभएपछि प्रमुख सचेतकहरू आआफ्ना शीर्ष नेताहरूसँग छलफलका लागि गएका छन् । शीर्ष नेतासँगको छलफलपछि पुनः सभामुखसँग छलफल गर्ने र त्यसपछि कार्यव्यवस्था बैठक राख्ने तयारी गरिएको छ ।