प्रतिनिधिसभाको अर्को बैठक जेठ १ गते बस्ने

बैशाख २८,२०८१

-आस्था न्यूज

वैशाख २८, २०८१ काठमाडौं ।
शुक्रबारदेखि सुरु हुने भनिएको बजेट अधिवेशन छलफलमा प्रवेश नै गर्न नपाइ स्थगित भएको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण बजेट अधिवेशनको पहिलो बैठक नै स्थगित भएको हो। 
 
सुरुवातमै अवरोध भएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। तर करिब एक घण्टापछि सुरु भएको दोस्रो बैठकमा सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसले चल्न दिएन।
 
रोष्टम घेराउ गर्दै नाराबाजीमा उत्रिएपछि सभामुख घिमिरेले अर्को बैठक जेठ १ गते साँझ ६ बजेका लागि बोलाउँदै आजको बैठक स्थगित भएको घोषणा गरे। 
 
अधिवेशन प्रारम्भमा अन्य कुराहरु नगरी विषयवस्तुमा प्रवेश गर्न सभामुख देवराज घिमिरेले अनुरोध गरेका थिए। लगत्तै कांग्रेसका सांसदहरुले उभिएर नाराबाजी सुरु गरेका हुन्। पटकपटक सभामुखले विषयवस्तु प्रवेशका लागि आग्रह गरे पनि कांग्रेसका सांसदहरुले उभिएर विरोध गरिरहे।
 
सभामुख घिमिरेले कांग्रेसका सांसद तथा महामन्त्री गगन कुमार थापालाई समय दिए। बोल्ने क्रममा थापाले उभिएर समय मागेर बोल्नुपर्ने दिन आउला भन्ने आफूले नसोचेको तर बोल्न बाध्य भएको बताए। 
 
सदनमा अन्य कुराहरु उठाउने तयारी भए पनि सदनमा घाँटी निमोठ्ने तयारी हुँदैछ भन्ने आभास भएपछि बोल्नुपरेको उनले बताए। थापाले अहिले सदनमा जुन दृश्य भइरहेको छ त्यसको कारण प्रतिपक्ष नभएको बताएका छन्। ‘नेपाली कांग्रेस सदन चल्नुपर्छ भन्ने पक्षमा छ। कतिपय ऐनहरु सदनमा जाओ‌स भन्ने थियो। अब हाम्रो माग एउटै हो सहकारी प्रकरणमा छानबिन समिति बनाओस् भन्ने हो,’ उनले भने। 
 
समिति बनाउँदा कांग्रेस मात्र नभइ अन्य दलका प्रतिनिधि हुने हुँदा पनि गृहमन्त्री किन डराएको भन्दै थापाले प्रश्नसमेत गरे। महान्यायाधिवक्ताले अधिकारको दुरुपोग गरी लम्पसार बसेको उनको आरोप थियो। 
 
उनले प्रमुख प्रतिपक्षले आरोप लगाइसकेपछि छानबिन समिति बनाउनु सरकारको कर्तव्य भएको थापाको भनाइ थियो। उनले संसदीय छानबिन समिति नबन्दासम्म कांग्रेसले सदन अगाडि बढ्न नदिने अडान राखे।